सेयर:

भर्खरै :

छुट्टै धारका लेखक संस्कृति शिराेमणि हरिराम जाेशीकाे `मेरा अनुभूतिहरू´ सार्वजनिक    |    सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय    |    ताथलीका युवा माओवादी प्रवेश, ककसले गरे प्रवेश?    |    जात्रामा बाइककाे टिँटिँ, पुलिस, प्रशासनमात्र हैन, स्थानीय सरकार पनि माैन    |    १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिद्वारा बढी धूमपान , दैनिक रू. आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन    |    प्रअलाई कसले कर्तव्यबोध गराउने ?    |    चाँगुनारायण नगरपालिकाकाे अर्को महत्वपूर्ण कदम, स्वास्थ्य वीमामा ५० प्रतिशत अनुदान , टाेलटाेलमा खटिँदै बिमक    |    भक्तपुरको चुनदेवीमा माेटरसाइकल दुर्घटना, गिरी र ओेलीकाे मृत्यु    |    २०७८ सालकाे पहिलाे अपराध : गाई फार्ममा बोलाएर २० वर्षीय राईको हत्या    |    थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?    |   
थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?

थिमिमा सिह्नजात्रा कि सिन्दुर जात्रा ?

बाटाेभरि राताम्मे सिन्दुर । गालामा राताम्मे सिन्दुर पोतिएका जोशिला तन्नेरी र उस्तै जोशिला बूढापाकाहरू । धिमेबाजाको ‘ताखोता द्याँद्याँ ताताखोता द्याँद्याँ’ । भुस्याःको ‘छ्याइँछ्यइँ’ । अनि नायखिँ, छुस्याः र अरू धेरैथरी बाजाको सुमधुर आवाज । यीसँगै जात्रालुको उत्साह र उमङ्ग अनि दर्शकको अपार भीडमा सिन्दुर छ्यापाछ्याप गर्दै देवीदेवता विराजमान खटहरू बोकेर मध्यपुर थिमि सहरका विभिन्न टोलहरू परिक्रमा गर्नु सिह्नजात्रा अर्थात् सिन्दुरजात्राको मुख्य विशेषता हो । सिन्दुरजात्राको रौनकले थिमि सहर उल्लासमय बन्छ । यो रौनक र यो उल्लास हरेक वर्ष वैशाख १ र २ गते हेर्न पाइन्छ मध्यपुर थिमि सहरमा ।
मूलतः वैशाख १ र २ गते दुई दिन चल्ने यो जात्रा निकै रोमाञ्चक हुन्छ । विभिन्न देवीदेवताका मूर्ति विराजमान खटलाई बोकेर बाजागाजासहित थिमि सहरका विभिन्न स्थानको परिक्रमा गराइन्छ । जात्रामा सहभागी जात्रालुबीच मैत्रीपूर्ण वातावरणमा सिन्दुर छ्यापाछ्याप गरी खेलिन्छ । जात्राले दर्शकलाई पनि भरपूर आनन्द प्रदान गर्छ । त्यसैले उपत्यकाका तीनवटै सहरबाट दर्शक यो जात्रा हेर्न आउँछन् ।
सिन्दुरजात्राकोे शुभारम्भ वैशाख १ गते सन्ध्याकालबाट हुन्छ । स्थानीय सिद्धिकाली मन्दिर परिसरबाट जात्राको उठान हुन्छ । यसलाई ‘सनिलøया जात्रा’ (सन्ध्याकालको जात्रा) भनिन्छ । यो दिनको जात्रा सिद्धिकाली र विष्णुवीर (वैष्णवीदेवी)को नेतृत्वमा सुरु हुन्छ । जात्रा राति ७–८ बजेसम्म जारी रहन्छ ।
दोस्रो दिनको जात्रा वैशाख २ गते बालकुमारी मन्दिर परिसरबाट सुरु हुन्छ । बिहान सुरु हुने भएकाले यस दिनको जात्रालाई ‘सुथसिया जात्रा’ (बिहानको जात्रा) भनिन्छ । विशेषगरी बालकुमारीमाईको जात्रा हुने भएकाले यसलाई बालकुमारीको जात्रा पनि भनिन्छ । बालकुमारी मन्दिर परिसरबाट सिन्दुरजात्राको क्रम पुनः उठान भएपछि खटलाई बोकेर थिमिका विभिन्न टोलमा परिक्रमा गराइन्छ । पहिले–पहिले ३२ वटा खट हुन्थे भने अहिले २० वटा मात्रै हुन्छन् ।
एकातिर खट बोक्ने युवाको फुर्तिलो जोश ! अर्कातिर धिमे र भुस्याः अनि नायखिँः र छुस्याः बजाउने वाद्यवादकको उमङ्ग ! अनि हातहातमा चिराक बोकेका बूढापाकाको प्रदीप्त अनुहार ! भीडभित्रै एकआपसमा सिन्दुर दल्दै र छ्याप्दै अनि परपरसम्म सिन्दुरका डल्लाले हान्दै नाच्दै, रमाउँदै गरेका तन्नेरीहरू ! बाटोका दुवै किनारामा उभिएर भरपूर आनन्द लिन तल्लीन महिला, पुरुष, युवकयुवती तथा केटाकेटीहरू ! साँच्चै जात्राको यो क्षण निकै रोमाञ्चक र अविस्मरणीय हुन्छ । जात्रामा संलग्न तन्नेरीले झ्यालझ्यालमा तरुनीलाई सिन्दुर छ्यापेको र जवाफमा तरुनीले पनि प्रेमपूर्वक उसैगरी सिन्दुर छ्यापेको दृश्य साह्रै रमाइलो हुन्छ । विदेशी पर्यटकका क्यामेराले ती दृश्यलाई कैद गरिरहेको पनि देख्न पाइन्छ । यसरी यो जात्राको रौनक विदेशसम्म पनि पुग्छ ।
यति रमाइलो जात्रा कसले, किन र कहिलेदेखि चलाएको होला ? जोकोहीको मनमा प्रश्न उठ्न सक्छ । तर यो जात्रा कसले, किन र कहिलेदेखि चलाउन थालेको हो भन्ने कुनै लिखित तथ्य वा प्रमाण अहिलेसम्म प्राप्त हुन सकेको छैन । केही समयअघि एक भेटमा थिमिका सामाजिक तथा साँस्कृतिक अन्वेषक गणेशराम लाछीलाई यिनै प्रश्न गर्दा उहाँले थिमिका चाडपर्व तथा जात्राप्रिय जनताले कामबाट केही समय फुर्सद निकाली मनोरञ्जन गर्न यो जात्रा मनाउन थालेको हुन सक्ने भन्नुभयो । राजेन्द्र तुबन्जाः श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक थिमि’ पुस्तकमा थिमिको सिन्दुरजात्रासम्बन्धी आलेखमा पनि यो जात्रा कसले, किन र कहिलेदेखि चलाएको भन्नेबारे केही उल्लेख गरिएको छैन ।
जात्रापर्व भनेका संस्कृति हुन्, इतिहास होइनन् । इतिहासमा मात्रै मिति, घटना र तथ्यको महŒव हुन्छ । संस्कृतिमा विधि र परम्पराको महŒव हुन्छ । त्यसैले संस्कृतिभित्र मिति, तथ्य र कारण खोजिरहनु जरुरी पनि लाग्दैन । पुर्खाले जे चलन चलाए त्यो हाम्रा लागि संस्कृति बन्यो । हामी जुन चलन चलाउँछौँ, त्यो हाम्रा सन्ततिका लागि संस्कृति बन्छ । संस्कृतिको विकास र विस्तार यसरी नै हुने हो । यसमा तथ्य, कारण र मिति हुनु आवश्यक हुन्न । सिन्दुरजात्रा थिमिले जनताको मौलिक संस्कृति हो । महŒवपूर्ण कुरा यही नै हो । बाँकी रह्यो यसको इतिहास । त्यो गौण कुरा हो ।
भक्तपुरमा मनाइने बिस्काः जात्रा र थिमिमा मनाइने सिन्दुरजात्रा एकै समयमा परेको हुँदा थिमिको सिन्दुरजात्रालाई पनि प्रायः बिस्काः जात्राकै रूपमा लिने गरिएको छ । यो जात्राको खास नाउँ सिह्नजात्रा अर्थात् सिन्दुरजात्रा भए पनि धेरैले यसलाई बिस्काः जात्रा नै भन्ने गर्छन् ।
भक्तपुरको बिस्काः जात्रा र थिमिको सिन्दुरजात्रा अर्थात् बिस्काः जात्राबीच कुनै सम्बन्ध नभएको बताउँदै अन्वेषक गणेशराम लाछीले भन्नुभएको छ, ‘भक्तपुर र थिमिमा जस्तै उपत्यकाका कीर्तिपुर, टोखा, लुभू, हाँडीगाउँ, सुनाकोठी आदि स्थानमा गरी विभिन्न समयमा झन्डै पचासवटा देवीदेवताको खटजात्रा हुने गथ्र्याे । त्यो अद्यापि छँदै छ । खटहरूको सङ्ख्याचाहिँ घटेको हुन सक्छ, जसरी थिमिमा घटेको छ । यी जात्राहरू पनि ती स्थानहरूका आफ्नै मौलिक जात्रा र परम्परा हुन् । यी जात्राहरूको कुनै सम्बन्ध थिमि अथवा भक्तपुरको जात्रासँग गाँसिएको छैन । यसैगरी सिन्दुरजात्रा पनि मध्यपुर थिमिका सम्पूर्ण नेवार जातिको आफ्नै मौलिक जात्रा हो ।’
वरिष्ठ संस्कृतिविद् लीलाभक्त मुनंकर्मीले ‘नेपालको साँस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन’, ‘हाम्रा साँस्कृतिक पर्व र जात्राहरू’ तथा ‘बिस्केट जात्राको संस्कृति’ आदि आफ्ना पुस्तकमा भक्तपुरको बिस्काः जात्रा तथा थिमिको सिन्दुरजात्राको विषयमा उल्लेख गरे पनि यी दुई जात्राबीच सम्बन्ध भए–नभएका बारेमा केही उल्लेख गर्नुभएको छैन ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःका अनुसार कुनै ठूलो कार्य सिद्ध हुँदा सिन्दुरजात्रा गरी उत्सव मनाउने गरिन्छ । थिमिको जात्रामा पनि देवीदेवता विराजमान खटलाई सहर घुमाउने मात्रै नगरी भव्य रूपमा सिन्दुरजात्रा नै गरिने प्रचलनले गर्दा यसको पछाडि कुनै ठूलै धार्मिक, साँस्कृतिक र दैवी अथवा जैविक कार्यसिद्धिको मिथक जोडिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । यति विशाल जात्रा आमोदप्रमोदका लागि मानिसको लहडबाजीले मात्र सुरु भएको पक्कै होइन होला भन्ने अनुमानचाहिँ गर्न सकिन्छ । यो कारणको खोजी गरिनु उचित नै देखिन्छ ।
सिन्दुरजात्रा थिमिको प्रमुख परिचय नै बनिसकेको छ । त्यसैले थिमिका जनताले यो जात्रालाई आफ्नो परिचय र मौलिक संस्कृतिका रूपमा गर्व गर्न पाएका छन् । नेपालमा जहाँ नेवारहरू छन्, त्यहाँ यस्ता जात्रा अवश्य हुन्छन् । यो नेवारको जातीय विशेषता नै हो । तिथिअनुसार महिनैपिच्छे जात्रा तथा चाडपर्व मनाउनु नेवारको जातीय पहिचान र जातीय विशेषताकै रूपमा रहिआएको छ । यो पहिचान र विशेषतालाई कायम राख्न र आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन अनि यसलाई जीवन्त राख्न युवापुस्तामा देखिएको उत्साह र जाँगर सराहनीय छ, प्रशंसनीय छ ।
थिमिको सिन्दुरजात्राको एउटा खट्किने पक्षचाहिँ के हो भने विगतमा थिमिलगायत नगदेश, बोडे, टिगनी र लोकन्थलीका स्थानीयवासी पनि सिन्दुरजात्रा मनाउन बाजागाजासहित थिमिमै भेला हुन्थे । तर, मनमुटावलगायत विविध कारणले केही वर्षदेखि यी क्षेत्रका स्थानीयवासीले आ–आफ्नै ठाउँमा छुट्टाछुट्टै जात्रा मनाउन थालेका छन् । यसले थिमिको सिन्दुरजात्राको भव्यतामा केही कमी आएको र यसको रौनक घटेको महसुस गर्न थालिएको छ । यसरी छुट्टाछुट्टै जात्रा मनाउन थाल्दा जात्रापर्वले जातीय मेलमिलापलाई बढावा दिनुपर्नेमा फुटलाई प्रश्रय दिएको भान हुन्छ । संस्कृति विस्तार हुनुलाई सुखद पक्ष नै मान्नुपर्छ । तर, मूल संस्कृति र त्यसको मौलिकतामाथि नै आँच आउनेगरी विस्तार भएको संस्कृतिले जातीय एकता र मेलमिलापको भावनामा क्षति पु¥याउने सम्भावना रहन्छ । यो तथ्यलाई सम्बन्धित पक्षले मनन गर्नु वाञ्छनीय हुन्छ ।- रत्न प्रजापति

सेयर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *