भक्तपुर, २३ चैत ।नयाँ वर्षको आगमनसँगै भक्तपुरमा मनाइने बिस्का जात्रामा प्रशासनकाे हस्तक्षेप भएको विराेभमा स्थानीय सडकमा उत्रिएका छन् ।
यसपटक पनि बिस्का जात्रालाई पूजामा सीमित गर्नका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले आइतबार निर्णय गरेपछि साेकाे विराेभमा स्थानीयले विरोध गरेका हुन् ।सोमबार ङातापोल (पाँचतले मन्दिर) चोकमा उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसिहत प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले ‘हाम्रो बिस्का हाम्रो सान हो’, ‘नेवा चाड देशको आर्थिक मेरुदण्ड हो’, ‘नेवा एकता जिन्दावाद’, ‘हाम्रो जात्रा हामीलाई प्राणभन्दा प्यारो छ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।
उनीहरूले साँकेतिक रूपमा विराेध प्रदर्शन गरेका थिए । प्रदर्शनीमा हजारौंको सहभागिता थियाे । सहभागीहरूले धिमे बजाएर बिस्का जात्रा हुनुपर्ने माग गरेका थिए ।
डीसीसीएमसी बैठकले नयाँ वर्ष २०७८ का अवसरमा हुने पूजा, पाठ, सप्ताह र पिकनिकजस्ता कार्यक्रमहरु पनि सीमित संख्यामा कोभिडको मापदण्ड पालना गरेरमात्र गर्न/गराउन अनुरोध गर्ने निर्णय गरेको हाे ।अत्यधिक भीडभाड हुने जिब्रो छेड्ने तथा सिन्दुर जात्रा नगर्न र कोरोनाबाट बच्न जनचेतनामूलक कार्यक्रम गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्डहरु उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्नेसमेत निर्णय गरेको छ ।
