भक्तपुर, १० फागुन ।दुवाकोटमा चाँगुनारायण नगरपालिकाको पहिलो एम्बुलेन्स सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका वडा नं. २ को समता सचेतना समाजले सो शववाहन सञ्चालनमा ल्याएको हो ।
वि.सं. २०६९ असोज २ गते स्थापना भएको सो समाजले विभिन्न कारणले मृत्यु भएकाको शव व्यवस्थापनमा सहजता ल्याउन शववाहन सञ्चालनमा ल्याएको जनाएको छ ।
समाजलाई सो शववाहन चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले सोमबार हस्तान्तरण गरेका थिए ।
कूल रु. ११ लाख १५ हजार लागतमा सञ्चालनमा ल्याइएको उक्त शव वाहन उपत्यकाका विभिन्न ठाउँमा सहुलियत शुल्कमा पुगेर मानवीय सेवामा समर्पित हुने समाजका अध्यक्ष उमेश प्रधानले बताए ।
उनले कोही कसैलाई शव वाहन सेवा चाहिएको खण्डमा सीधा ९८६१७४५७०६ नम्बरको मोबाइलमा सम्पर्क गर्न सकिने बताए ।
शववाहन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख मिश्रले शववाहनलाई सहज तरिकाले सञ्चालनका लागि नगरपालिकाले वार्षिक रु. १ लाख अनुदान दिने बताउँदै शव वाहन सञ्चालनका लागि आवश्यक खर्चको जोहोका लागि अक्षय कोषको जरुरी रहेको बताए ।
कार्यक्रममा चाँगुनारायण नपा वडा नं. १ का वडाध्यक्ष राजेश खड्का, २ का वडाध्यक्ष शिवहरि केसी, जिल्ला समन्वय समिति सदस्य श्रीराम ब्याञ्जु, स्वास्थ्य कार्यालय भक्तपुर प्रमुख कृष्णबहादुर मिजार, सिप्रदीका तुषार गुप्ता, रेडक्रसका सोम प्रधानलगायतले शव वाहन सञ्चालनका क्रममा आउने कठिनाइलाई सामना गरी अघि बढ्नुपर्ने बताएका थिए ।