भक्तपुर, ९ फागुन । भक्तपुर नगरपालिका वडा नं. १ को सल्लाघारी एरिया लागू औषध कारोबारको भरपर्दो केन्द्र बन्दै गएको छ ।
प्रहरी तथा प्रशासनको कम ध्यान पुग्ने र जंगलमा लुकीछिपी कारोबार गर्न पाउने भएकाले सो क्षेत्र लागू औषध कारोबार गर्ने तथा सेवन गर्नेहरुका लागि उपयुक्त केन्द्र बन्दै गएको हो ।
यसको पछिल्लो उदाहरण बनेको छ, एकैदिन ९ सय थान लागू औषधसहित एक व्यक्ति पक्राउ पर्नु ।
आइतबार विहानै प्रहरीले सल्लाघारीस्थित डा. इवामुरा अस्पताल अगाडिको सडकबाट लागूऔषध बिक्रीकर्ता आनन्दराम चमारलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले चमारबाट ३ सय थान डाईजेपाम, ३ सय थान नोर्फिन र ३ सय थान फेनारगन बरामद गरेको छ ।भारत बेतिया सिक्टा बस्ने ४७ वर्षीय चमारलाई आइतबार प्रहरीले पक्रेपछि सो स्थानलागूऔषध किनबेच गर्ने व्यक्तिहरुको गतिविधि हुने ठाउँ बन्दै गएको पछिल्लो प्रमाण भएको स्थानीयले बताए । स्थानीयले सो ठाउँमा यसअघि पनि लुकीछिपी विभिन्न लागू औषधको कारोबार हुने गरेको थियो । त्यसबारेमा प्रहरीले निगरानी नराखेको गुनासो स्थानीयको छ ।
आइतबार विहानको सो घटनाबारेमहानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान गरिरहेको छ ।