भक्तपुर, ८ फागुन । मध्यपुर थिमीमा वर्षका उत्कृष्ट २६ खेलाडी सम्मानित भएका छन् ।
भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमीको दुई पोखरीमा आर्कषक तरिकाले बनाइएको स्टेजमा खेलमार्फत् उत्कृष्ट योगदान पुर्याएका २६ खेलाडी सम्मानित भएका हुन् ।
दुई पोखरीमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार आयोजना गरेको कार्यक्रममा ती खेलाडीहरु उत्कृष्ट खेलाडी २०७६ बाट सम्मानित भए । एनएनआइपिए अवार्डको १५ औं संस्करणमा सम्मानित हुने खेलाडीहरुमा गौरिका सिंह (पौडी), मण्डेकाजी श्रेष्ठ (कराते), सुजल श्रेष्ठ (फुटबल),,पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस), कल्पना परियार (सुटिङ), कुलबहादुर थापा (भलिबल), विकास थापा भारोत्तोलन (भारोत्तोलन), प्रदीप खड्का (लन टेनिस), रविना थापा (फेन्सिङ), कल्पना ओली (ह्यान्डबल), विपना ब्लोन (स्क्वास), मिनु गुरुङ (बक्सिङ), श्याम बुढाथोकी (खो खो), रत्नजित तामाङ (ब्याडमिन्टन), सोनी तामाङ (ट्राइथोलन), अन्जली चन्द (क्रिकेट), आयशा शाक्य (तेक्वान्दो), सुवास तामाङ (गल्फ), देविका खड्का (जुडो), सनातन मल्ल (आर्चरी), जुनी राई (उसु), अनुशा मल्ल (बास्केटबल), संगिता धामी (कुस्ती), मेनुकाकुमारी राजभण्डारी (कबड्डी), सन्तोषी श्रेष्ठ (एथलेटिक्स), बुद्धिबहादुर तामाङ (साइक्लिङ), पारा एथलेट – केशव थापा (टेबल टेनिस) रहेका छन् ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ ।
मध्यपुर थिमी नगरपालिका सहआयोजक रहेको अवार्डमा केल्मी नेपाल, प्लाजा होटल गु्रप, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, गजराज जोशी ट्रष्ट, ग्लोबल आइएमइ बैंक, श्रीनाथ कलेक्सन, राइका टुर्स एन्ड ट्राफल्स, स्काई फिट, आदर्शक समाज विकास केन्द्रको साथ रहेको एनआइपिएले जनाएको छ ।
सोही कार्यक्रममा पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएनआइपिए स्पोर्टस अवार्डमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट ती खेलाडीले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँसमेत सोही अवसरमा प्राप्त गरेका छन् ।