भक्तपुर, ७ फागुन । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको स्थापना दिवसको अवसरमा सुडाल स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।
सोसाइटीको ५२ औँ स्थापना दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित स्वास्थ्य चौकीलाई चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रको उपस्थितिमा सो उपकरण हस्तान्तरण गरिएको हो ।
रेडक्रस भक्तपुर जिल्ला शाखाका सभापति मनोज कुमार थापा तथा मन्त्री परशुराम पाण्डेले संयुक्त रुपमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको रेडक्रसले जनाएको छ ।
उक्त कार्यक्रममा चाँगुनारायण ८ का वडा अध्यक्ष, रेडक्रस सुडाल उपशाखाका सभापति, सुडाल स्वास्थ्य चौकी प्रमुखलगायतको उपस्थिति रहेको थियो ।