भक्तपुर ६ फागुन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा पूर्वाञ्चल विश्वविद्यालयले अनुगमन गरेको छ ।
विश्वविद्यालयको इन्जिनियरिङ संकायका डीन देवीप्रसाद भट्टराईको टोलीले भक्तपुर लिवालिस्थित इञ्जिनियरिङ कलेजमा अनुगमन गरेको हो ।
अनुगमनपछि डीन भट्टराईले कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटी कलेजको विषयमा सोधपुछ गरेका थिए ।
नगरपालिका कार्यालयमा भएको भेटमा ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहमा कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ र स्नातकमा मेकानिकल इन्जिनियरिङलगायतका विषयहरू थप गर्ने विषयमा छलफल भएको थियो ।
भेटमा नगर प्रमुख प्रजापतिले देशभरिका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्न भक्तपुर नपाले सात वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्य रहेको बताए ।
सो भेटमा डीन भट्टराईले नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भए पनि पूर्वाञ्चल विविको आंगिक क्याम्पससरह मान्यता प्राप्त भएको जानकारी दिँदै कलेजलाई आवश्यक विषयहरू थप गर्ने विषयमा आफू सकारात्मक रहेको बताए ।
ख्वप इन्जिनियरिङ कलेजले सस्तोमा इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्दै उनले ख्वप इन्जिनियरिङ कलेजले नपासँग मिलेर कलेजका प्राध्यापक विद्यार्थीहरूको प्राविधिक सहयोग सराहनीय पक्ष भएको औंल्याए ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र उपप्राचार्य रबिन्द्र फोँजु पनि थिए ।