
रामशरण (जितपुरे) कार्की,
‘अन्धो’ले छामेको हात्ती
‘लठेव्रो’ले गाएको गीत
‘वहिरो’ले सुनेको संगीत
र अझ,
‘भकभके’ द्धारा उच्चारित शब्द
जनतामा मरुभूमिको प्यास
अन्त्य अवस्थाको श्वास
वाँझो कोखमा सन्तान आस
र अझ,
खरखजनामा सर्पको वास
नारा,भाषणको महाकाव्य
आरोप प्रत्यारोपको शब्दकोश
हत्या,हिंसाको पृष्टपोषक
र अझ,
भ्रष्टाचारको खुल्ला वधशाला
विकास निर्माणमा तानातान
रोजगारिमा लठ्ठि हानाहान
महँगीको चंगा सगरमाथामा
र अझ,
भाइ भाइ शत्रुता अराजक झडपमा
कामको खोजी युवक विदेश यात्रा
पहाडी जमिनमा जनावरको जात्रा
उर्वर भूमिमा भए छत ढलान
र अझ,
जमिन खण्ड खण्ड आनामा चलान
जंगल राज सिंहको गर्जमान
ठेकेदारी पेटीका पितामह डन
सँधियारका दृष्टिमा त लुतेपन
र अझ,
कालका पनि माहाकाल यमराज ।
गौरवका आयोजना वनवास
दुसासन, दूर्योधनको छ त्रास
वागमा वाँदर, बाघको वास
र अझ,
हरेक आयोजना छन शंकाको घेरामा
मिलिजुली भागवण्डा ढुकुटी
जनतामा करभार मन्दविष
स्वार्थमा मिलाप लुट रमिता
भित्रिए देशभर दुष्ट धमिरा
र अझ
देशनै विखण्डन, बिक्रीमा विज्ञापन
पहँुच अनुदानमा होस किसानको
उद्योग खुलून आयात रोक्ने
शिक्षण होस सीप, प्रविधिको
वालवृद्ध ढुक्क भै रमाउन
र अझ
राजनीति वनोस् निस्वार्थ सेवाको ।
रामशरण (जितपुरे) कार्की, पूर्व शिक्षक हुन् । चाँगुनारायण नपा ८, सुडालको जीतपुर बस्ने कार्कीको यो कविता चाँगुपत्रको साताको साहित्यमा समावेश गरेका छौं ।